२० चैत, हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही थालेको छ । कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायका अनुसार पटकपटक लिखित र मौखिकरुपमा ताकेता गर्दासमेत सम्पर्कमा नआएपछि ती सात वटा निर्माण कम्पनीसगँको ठेक्का सम्झौतासमेत तोडेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
आशिया कन्स्ट्रक्सन, सौरभा कन्स्ट्रक्सन, सरस्वती निर्माण सेवा, सोनु कन्स्ट्रक्सन, नन्दनी कन्स्ट्रक्सन, जिपिवी कन्स्ट्रक्सन र दामुचन्द्रमाला कन्स्ट्रक्सन विरुद्ध कारबाही प्रक्रिया अगाडि बढेको छ । ती कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ भने कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए । गत असोजमा ती कम्पनीसँगको सम्झौता तोडिएको हो ।
एघार वर्ष अगाडि विभिन्न सडक निर्माण र मर्मत ठेक्काको सम्झौता गरेका ती निर्माण कम्पनीलाई निर्माण सम्पन्न गर्न तोकता गरिए पनि लामो समयदेखि सम्पर्कमा नआएपछि कारवाही गरिएको कार्यालयले जनाएको छ । ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालय काठमाडौँमा सिफारिस गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ३० दिनभित्र स्पष्टीकरण पेश गर्न ती कम्पनीलाई निर्देशन दिएको छ । तोकिएको समयमा स्पष्टीकरण नदिएमा कालोसूचीमा राखिने छ ।
बारा, पर्सा र मकवानपुर कार्यक्षेत्र रहेको सो सडक डिभिजन कार्यालयले चालू आर्थिक वर्षमा विभिन्न स्थानमा २० वटा पुल र पक्की सडक निर्माण गरिरहेको प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । पुल र सडक निर्माणको लागत करीब रु ४० करोड रहेको बताइएको छ ।