मुख्य समाचार

ओलीले राजीनामा नदिए अविश्वास प्रस्ताव आउँछ : रामचन्द्र पौडेल

ramchandra paudel

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताए । उनले भने ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउँछौंँ ।’ सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनस्थापनाका लागि आवाज उठाएका तीन दलबीचमा वार्ता गरी समझदारी बनाई सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनको भनाइ थियो ।

उनले भने, ‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमनविरुद्धमा संघर्ष गरेका र पुनर्स्थापनाका लागि आवाज उठाएका तीन दलबीचमा पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौं ।’ उनले अव बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि बताए । तर, यस विषयमा अन्य दलहरुसँग छलफल गर्न कांग्रेस तयार रहेको पनि स्पष्ट पारे ।

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने पनि बताए । महाधिवेशन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेशन सम्पन्न गरिने बताए । ‘महाधिवेशन समयमै हुन्छ’, उनले भने, ‘कांग्रेसको महाधिवेशन भदौमै हुन्छ, गर्नैपर्छ, नगर्दाखेरी त हाम्रो पार्टीको अस्तित्व समाप्त हुन्छ ।’ जनता समाजवादी पार्टी नेपालका माग पुरा गर्न काँग्रेस प्रयासरत रहेको पनि वरिष्ठ नेता पौडेलले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस