२२ चैत, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)ले ‘रोबटिक सर्जरी’ थाल्ने भएको छ। उसले यो प्रविधि नेपालमै पहिलोपटक भित्र्याइएको दाबी गरेको छ । ‘रोबट मेसिन’ ल्याएर ‘रोबटिक सर्जरी’ थाल्ने तयारी अन्तिम चरणमा पुगेको केएमसीले जनाएको छ । ‘रोबटिक सर्जरी’का लागि केएमसीले करिब १० करोडको लागतमा मेसिन खरिद गरिएको दाबी गरेको छ ।
तर, यो उपकरण भने केएमसीले काठमाडौं ल्याइसकेको छैन । ‘मेसिन आउने क्रममा छ, केएमसीबाट डेढ महिनाभित्र ‘रोबटिक सर्जरी’ थालिने छ,’ केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए । ‘नेपालमै पहिलो पटक हामीले रोबोटिक सर्जरी थाल्दैछौँ,’ डा.शर्माले भने, ‘यूएसबाट मेसिन खरिद भइसकेको छ । अब प्राविधिक पक्ष मिलाईसकेपछि डेढ महिनाभित्र नेपालमै पहिलो पटक सर्जरीमा रोबोट प्रयोगमा ल्याउँदैछौ ।’
अत्याधुनिक र भरपर्दो उपचारका लागि केएमसीले न्यूरो सम्बन्धित शल्यक्रियामा रोवट प्रयोग गर्ने तयारी गरेको हो । त्यसपछि अन्य शल्यक्रियामा पनि रोवोटको प्रयोग गर्ने केएमसीको योजना छ । ‘रोबोटिक सर्जरी’ मा चिकित्सकले बनाएको अप्रेशन योजनामा रोवटको सहायता लिएर अप्रेशन गरिन्छ । सुक्ष्म एवं जटिल शल्यक्रियामा रोवटको सहायता लिदा शल्यक्रिया गर्न धेरै सहज हुँने केएमसीका बरिष्ठ न्यूरो सर्जन प्रा.डा.अमित थापाले बताए ।
‘रोबोटले नै सबै अप्रेशन गर्ने चै हैन, सर्जनले प्लान गरेर रोबोटको सहायता लिएर अप्रेशन गर्ने हो । सानो–सानो अगंमा पुगेर गरिने सुक्ष्म अप्रेशनमा सर्जनको हात काम्न सक्छ, त्यस्तो अवस्थामा रोवटको सहायता लिदा फिक्स काम हुँने हुनाले सर्जनलाई सजिलो हुन्छ,’ डा.थापाले भने,‘सानो प्वाल बनाएर गर्नुपर्ने अप्रेशन, शरीरको संवेदनशिल अंगमा पुगेर गरिने जटिल अप्रेशनहरुमा रोवटको निकै ठूलो भूमिका हुन्छ । जसका कारण अप्रेशनको बेष्ट रिजल्ट प्राप्त हुन्छ ।’
चिकित्सकहरूका अनुसार नेपालका कुनैपनि अस्पतालमा हालसम्म ‘रोबोटिक सर्जरी’ सुरु भएको छैन । अत्याधुनिक र भरपर्दो मानिने यो सर्जरी केएमसीले नेपालमै पहिलो पटक सुरु गर्न लागेको हो । पूर्वमा प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले गत भदौ महिनाबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । डा.शर्माको प्रवेशसँगै केएमसीले उपचारमा स्तरीयता बढाउँदै लगेको छ ।