समाचार

आविष्कारक पुर्खाको सन्तान भएको नबिर्सन प्रधानमन्त्रीको आग्रह

kp sharma oli

२३ चैत, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट)का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न आग्रह गरेका छन् । नास्टको ४४औँ प्राज्ञसभालाई आज प्रधानमन्त्री निवास वालुवाटारमा सम्बोधन गर्दै उनले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गरिनुपर्ने विचार व्यक्त गरे ।

अहिलेसम्म हाम्रो गति उत्साहहीन, सङ्कल्पहीन, गन्तव्य नतोकिएको र अठोट नगरिएको र जे छ त्यसैमा सन्तोष लिने खालको रहेको पनि प्रधानमन्त्रीको भनाइ रहेको छ । “सरकारमा रहनेलाई सरकारमा रहन पाए हुने भयो । पहिले सरकारमा कसरी पुग्ने र पुगे पछि कसरी टिक्ने नीति लिने मात्र काम जस्तो भयो”, उनको भनाइ थियो ।

करिब १११ वर्षअघि दक्षिण एसियामा पहिलो पटक जलविद्युत् गृह बनाउने देश अहिले पछाडि परेको भन्दै उनले वैज्ञानिकलाई आफू आविष्कारक पुर्खाको सन्तान भएको नबिर्सन पनि आग्रह गरे । सभालाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नास्टका सहकुलपति कृष्णगोपाल श्रेष्ठले नास्टले आगामी दिनमा वैज्ञानिकहरुको वृत्ति विकासमा ध्यान दिने र देशमा वैज्ञानिक अनुसन्धानका लागि सहज वातावरण निर्माण गर्नेतर्फ अघि बढनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नास्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले समृद्धिका लागि नेपाली समाजको दैनिकीसँग जोडिएका प्रविधिको विकास र विस्तारमा नास्ट क्रियाशील रहेको बताए ।

सभाले वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गराउन र प्रतिभा प्रस्फुटन गराउन विभिन्न १२ विधामा स्थापना गरेका पुरस्कारको समेत निर्णय गरेको छ । यसअनुसार डा शेरबहादुर पुन, अनुपकुमार श्रेष्ठ, रेशमा तुलाधर, गोविन्दप्रसाद पोखरेल तथा नातिकाजी महर्जनलगायतका विज्ञान प्रविधि सम्बद्ध व्यक्तित्वलाई पुरस्कृत गरिने छ । यसैगरी आगामी वर्षदेखि कृषिसम्बन्धी वैज्ञानिक कार्यका लागि समेत पुरस्कार दिइने निर्णय सभाले गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस