समाचार

३७ आरोही समूहले लिए आरोहण अनुमति

sagarmartha

–सिबी अधिकारी
२४ चैत, काठमाडौं । कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका छन् । महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको छ । यतिखेर विभिन्न मुलुकबाट नेपालको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोहीले अनुमति लिइरहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ३७ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिसन परमिट) दिएको छ ।

सगरमाथाका १८ सहित ३७ आरोही समूहका ३०३ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ । सगरमाथा आरोहणका लागि मात्रै १८ आरोही समूहले अनुमति लिएको छ । हालसम्म सगरमाथाको १८ आरोही समूहसहित ३७ आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिए । विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि छ । विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।

कोभिड महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले पहिलो आरोहण अनुमति लिएको छ । नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली छन् ।

सगरमाथामा १८ आरोही समूह

वसन्त यामको सगरमाथा आरोहणका लागि हालसम्म १८ आरोही समूहका १६७ आरोहीले आरोहण अनुमति लिएका छन् । आज मात्रै सगरमाथाका लागि एक आरोहण अनुमति जारी भएको छ । विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा हालसम्म सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि सबैभन्दा बढी १८ आरोही समूह छन् र सोही क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) मा चार, नुप्से (७,८६४ मिटर) मा तीन र पुमरी (७,१६१ मिटर) मा एक आरोही समूह छन् ।

यस्तै पुमरी (७, १६१ मिटर) मा एक आरोही समूहलाई अनुमति दिइएको छ । गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१) आरोहणका लागि चार र धौलागिरि हिमाल (८,१६७ मिटर) मा तीन समूहलाई अनुमति दिएको छ भने गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूह छ । सङ्खुवासभामा पर्ने मकालु हिमाल (८,८४६३ मिटर) आरोहणका लागि एक समूहले अनुमति लिएको छ ।

झण्डै २३ करोड रोयल्टी सङ्कलन

पर्वतारोहणका लागि उपयुक्त मानिने वसन्त याममा सर्वाधिक आरोही सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि नेपाल आउने गर्छन् । हिमाल आरोहणबाट राज्यलाई रामै्र रोयल्टी जम्मा हुन्छ । यस यामको आरोहणमा असहज परिस्थितिका बीचमा पनि आरोहीको सङ्ख्या उत्साहवद्र्धक रहेको छ ।

यस याममा हिमाल आरोहण बापत पर्यटन विभागले हालसम्म झण्डै २३ करोड रोयल्टी सङ्कलन गरेको छ । विभागको सोमबारसम्मको विवरणमा रु २२ लाख ७७ हजार एक हजार ४५९ रोयल्टी जम्मा भएको छ । हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्त यामलाई मानिन्छ । यो अनुकूल मौसममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लु लगायतका उच्च हिमशृङखला आरोहीको रोजाइमा पर्छन् ।

मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरुआत भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ । वसन्त यामको आरोहणका लागि विभागले यही चैत २ देखि आरोहण अनुमति जारी गरेको थियो । चैत १३ मा सगरमाथा आरोहणको पहिलो ‘परमिट’ जारी भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस