मुख्य समाचार

व्यक्ति केन्द्रीत स्वार्थ देखेर लज्जाबोध भएको छः ईश्वर पोखरेल

Ishwor pokhrel

२४ चैत, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक दलका अगुवा हरुमा व्यक्ति केन्द्रीत स्वार्थ विकसित हुँदै गएको भन्दै त्यो देखेर आफूलाई लज्जाबोध हुने गरेको बताएका छन् । उनले राजनीतिक वृतमा अगुवाहरुमा पद र कुर्सी मोहको कोलाहाल देखिएको टिप्पणी गरे । उनले भने, ‘राजनीतिक अगुवाहरुले सार्नुभएको मुद्दा, विचारले लज्जाबोध हुन्छ । हामीले पाएनौ, मैले पाइनँ, पाउनुपर्ने । नेतृत्व पक्तिमा रहेका मान्छेहरुको यही कोलाहाल देखिन्छ । यसले एकखाले मान्छेलाई राजनीतिसँग वितृष्णा जगाउँछ ।’

उनले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिदै गएको भन्दै त्यस विरुद्ध खबरदारी गर्न आह्वान पनि गरे । काठमाण्डौमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

स्वर्गीय रिमालले आफ्ना रचनाहरुमा सधै राजनीतिक विकृति, विसंगतिलाई तिखो कटाक्ष गर्दै जबरजस्त धाबा बोल्ने गरेको प्रसंग उल्लेख गर्दै उहाँले अहिले पनि मुलुकमा त्यस्ता विसंगतिहरु चुलिदै गएकाले त्यस विरुद्ध उभिनुपर्ने बताए । उनले विकास निर्माण र सम्मृद्ध नेपालको सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिईकन “सपना देख्नेहरुलाई सराप्नेहरु पनि रहेको” भन्दै व्यंग्य गरे ।

उनले भने– “जसरी गोपालप्रसाद रिमाल सपना देख्नुहुन्थ्यो, आज आफ्ना सपनाहरुको मृत्यु नहोस् भनेर हामी सजग हुनु जरुरत छ । सपना नदेख्नु पनि राम्रो होइन । तर सपनाको मृत्यु हुनु त सबैभन्दा डरलाग्दो कुरा हो । आज सपना देख्नेहरूलाई सराप्नेहरू पनि छन् । सपनाको मृत्युप्रति परवाह नगर्ने नालायकहरु पनि छन् । तर गोपालप्रसाद रिमाल सपना देख्ने स्वप्नदर्शी पनि हुनुहुन्थ्यो । उहाँले राजनीतिक क्षेत्रको विसंगति विकृतिको बारेमा कटाक्ष गर्नुभयो । धावा बोल्नुभयो । राजनीतिक क्षेत्रमा विकृति विसंगतिहरु प्रशस्त देखिन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु चुलिएका छन् । तर निराश हुनुहुँदैन । त्यसको विरुद्धमा उभिनुपर्दछ ।”

उनले मुलुकको सम्मुन्नत विकासका लागि राजनीतिक स्थायीत्व आवश्यक पर्ने र राजनीतिक स्थायीत्व नहुँदा देशले दुख पाउने भएकाले राजनीतिक क्षेत्रमा देखिएका विकृति विसंगति विरुद्ध सबैले खबरदारी गर्नुपर्नेमा जोड दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस