२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विवादास्पद ‘सूचना प्रविधि सम्बन्धी विधेयक’ को प्रतिवेदन पेस हुँदैछ ।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस हुन लागेको हो ।
यो विधेयकप्रति नेपाली कांग्रेसका सांसदहरुले पहिलेदेखि नै विरोध जनाउँदै आएका छन् । नेपाली कांग्रेसका सांसदहरुको विरोध भए पनि संसदीय समितिको बहुमतले पारित गरेको यो विधेयक पारित भएको १५ दिनपछि प्रतिनिधिसभा बैठकमा पेस हुन लागेको हो ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मधेशी आयोग र थारु आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेश हुने कार्यसुची रहेको छ । साथै राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।