मुख्य समाचार

माओवादीका थप दुई सांसद कारबाहीमा, के हुन्छ अबको प्रक्रिया ?

Rambahadur Thapa Badal

२८ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी  केन्द्र)ले पार्टी परित्याग गरेर नेकपा (एमाले)को सदस्यता प्राप्त गरेको भन्दै राष्ट्रिय सभाका दुई सदस्यलाई कारबाहीसहित दल त्यागको जानकारी सङ्घीय संसद्लाई दिएको छ ।

पार्टीले दल त्यागको जानकारीसहितको सूचना शुक्रबार सङ्घीय संसद्का महासचिवसमक्ष दिएको हो । उक्त सूचना राष्ट्रिय सभामा पठाइएको छ । सदस्यद्वय रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई कारबाही गरी दल त्यागको जानकारी पठाइएको हो । थापा गृहमन्त्री छन् । माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले शुक्रबार गृहमन्त्री थापा आफ्नो दलमा नरहेको पत्र सङ्घीय संसद् सचिवालयलाई बुझाए ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिना विदेश रहेका कारण स्थान रिक्तको सूचना प्रकाशन प्रक्रिया भने वैशाख १ गतेपछि मात्र अगाडि  बढ्नेछ ।

सूचना दर्ता भएसँगै अब राजनीतिक दलसम्बन्धी ऐनको प्रावधानअनुसार उक्त सूचना सचिवालयले राष्ट्रिय सभा अध्यक्षसमक्ष पेस गर्नेछ । अध्यक्षले उक्त  सूचना बढीमा १५ दिनभित्र सदनमा जानकारीका लागि पेस गर्नुपर्ने छ । हाल राष्ट्रिय सभाको अधिवेशन चालू नरहेकाले उक्त सूचना सचिवालयको सूचना पाटीमा टाँस  गरिनेछ । राष्ट्रिय सभा अध्यक्ष हाल स्पेन भ्रमणका क्रममा रहेकाले उक्त प्रक्रिया वैशाख  १ गतेपछि मात्र सुरु हुनेछ । सूचना प्रकाशन भएसँगै सांसदको स्थान रिक्त हुनेछ ।

स्थान रिक्त भएको अवस्थाको जानकारी संसद्ले निर्वाचन आयोगलाई बढीमा १५ दिनभित्र दिनुपर्ने छ । निर्वाचन आयोगले छ महिनाभन्दा बढी कार्यकाल रहेको अवस्थामा रिक्त स्थानमा उपनिर्वाचनको प्रक्रिया अगाडि बढाउनेछ । थापाको राष्ट्रिय सभाको कार्यकाल ६ वर्ष र खड्काको कार्यकाल चार वर्षको छ । माओवादी केन्द्रले ४ निर्वाचित सांसदलाई पनि हटाइसकेको छ । गोरखापत्रमा खबर छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस