राजनीति

संसद्‍मा पनि गुट चलाउने खेलमा प्रधानमन्त्री ओली

KP Oli

२८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो पक्षमा लिन सके सरकार ढल्नबाट जोगिन्छ कि भन्ने ध्याउन्नमा छन् । त्यसकारण उनी जसपा अध्यक्ष महन्थ ठाकुरलाई निरन्तर फकाइरहेका छन् । ओलीको भित्री आशय प्रतिनिधिसभलाई विघटन नै गर्नेछ। विघटन गर्न नसके अर्काे पार्टीको सरकार बन्न नदिने प्रस्ट लाइनमा प्रधानमन्त्री ओली देखिएका छन् ।

प्रधानमन्त्री ओलीको रणनीतिलाई चिर्न माओवादी केन्द्र र एमालेकै माधव नेपाल पक्ष लागिपरे पनि नेपाली कांग्रेस र जसपा प्रस्ट नहुँदा समस्या भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको भित्री लाइन पनि प्रतिनिधिसभा विघटन नै गरेर मध्यावधि निर्वाचनमा जानेछ । तर उनले पार्टीभित्रको दबाबका कारण सरकार गठनका लागि पहल गरेजस्तो देखाइरहेका छन् ।

‘देउवाले सरकार गठनमा गम्भीर छलफल गर्नेछैनन्, त्यसैले आफ्नै नेतृत्वको सरकार बन्नुपर्छ भनेर अडान लिनुको अर्थ पनि सहमति नगर्ने नै हो,’ कांग्रेसनिकट स्रोतले भन्यो । कांग्रेस नेता रामचन्द्र पौडेल भने प्रधानमन्त्री ओलीको विकल्पमा सरकार गठन गर्नुपर्ने अडानमा छन् । पौडेललाई खुसी पार्न संसद् बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्न लगाइएको स्रोतले बतायो ।

यही चैत २३ गतेको संसद् बैठकमा कांग्रेसका सांसदले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । जसपा अध्यक्ष महन्थ ठाकुर समूहले रेशम चौधरीसहित थारू आन्दोलनमा पक्राउ परेकालाई मुद्दा र जेलबाट छुटाउनुपर्ने मुख्य माग राखेको भए पनि  प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दादेखि नै उनका पक्षमा उभिएको छ । ठाकुर समूहको भित्री आशय पनि प्रधानमन्त्री ओलीलाई साथ दिएर संसद् विघटन नै गराउने भएको स्रोतले बतायो ।

तर प्रधानमन्त्री ओली जसपालाई आफूतर्फ ल्याएर मात्रै सत्ता चलाउन सक्ने अवस्था देखिँदैन, उनलाई कुनै पनि बेला सरकार छाड्नुपर्ने अवस्था आउने नेपाल पक्षका एक नेताले बताए । २०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ल्याएको नीति तथा कार्यक्रममा कांग्रेसकै ३६ जना सांसद अनुपस्थित भएपछि पारित हुन नसक्दा सरकार नै ढलेको थियो ।

त्यसपछि कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा दिँदै संसद् विघटन गरेका थिए । त्यो अवस्था अहिले पनि आउन सक्ने खतरा यतिबेला पनि देखिन्छ एमाले नेपाल निकट स्रोतले भन्यो । प्रधानमन्त्री ओलीलाई सहज रूपमा सत्ता चलाउन पार्टीभित्रबाट सहयोग हुनुपर्छ, संसद्मा सभामुखले साथ दिनुपर्छ, मिडियाले सहयोग गर्नुपर्छ, नागरिक समाजले सहयोग गर्नुपर्छ, प्रतिपक्षले गुण र दोषका आधारमा सहयोग गर्नुपर्छ भन्ने कुरामा राजनीतिक भेटघाटमा बहस हुने गरेको छ ।

नागरिक दैनिक लेख्छ-ओलीले सकेसम्म आफ्नै नेतृत्वको सरकारको निरन्तरता दिने प्रयास गरिरहेकाले संसद् रहुन्जेल त्यसलाई आफ्नो पकडमा राख्न उनले गुटको राजनीति सुरु गरिरहेका छन् । फागुन २३ गते सर्वोच्चको फैसलापछि पूर्ववत् अवस्थामा फर्केको एमालेले संसद्भित्र नेपाल समूहलाई तह लगाउनेगरी खेल सुरु गरेको छ भने माओवादी केन्द्रलाई पनि पाखा लगाउने खेल भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस