मुख्य समाचार

ओली सरकार ढाल्ने देउवाको प्रस्तावमा महन्थ असहमत !

deuba niwas three party

२८ चैत, काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग प्रस्ताव राखेको छ । प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक प्रतिक्रिया दिए पनि जसपाले सहमति नजनाएपछि शुक्रबार बसेको त्रिदलीय बैठक बिनानिष्कर्ष टुंगियो ।

नयाँ सत्ता समीकरणका लागि छलफल गर्न कांग्रेसले माओवादी केन्द्र र जसपालाई बोलाएको थियो । बैठकको प्रारम्भमा कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा माओवादी केन्द्र र जसपा सम्मिलित नयाँ सरकार बनाउने प्रस्ताव राखेका थिए । कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेबमोजिम देउवाले औपचारिक रूपमा माओवादी केन्द्र र जसपाका नेताहरूसँग छलफल गरेका हुन् । देउवाले लोकतान्त्रिक र निष्पक्ष चुनाव गराउन ओली नेतृत्वको सरकार ढालेर नयाँ बनाउनुपर्ने धारणा राखेको स्रोतले बतायो ।

देउवाले राखेको पार्टीको धारणामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उत्साहित हुँदै सकारात्मक प्रतिक्रिया दिएको स्रोतले बतायो । तर जसपा अध्यक्ष महन्थ ठाकुरले भने ओली सरकार ढाल्ने प्रस्तावमा सहमति जनाएनन् । स्रोतले ठाकुरलाई उद्धृत गर्दै भन्यो, ‘अहिले हाम्रो चासो पार्टीका माग पूरा गराउनेमा मात्र केन्द्रित छ। सरकारले हाम्रा माग सम्बोधन गर्न प्रक्रिया अघि बढाएको छ । यस्तो बेलामा वर्तमान सरकार ढालेर नयाँ बनाउनेतिर हाम्रो कुनै चासो छैन ।’ ठाकुरले ओली सरकार ढालेर नयाँ निर्माण गर्ने विषयमा आफ्नो पार्टीभित्र छलफल नभएको पनि बताएका थिए । नागरिक दैनिकमा खबर छापिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस