
२८ चैत, काठमाडौं । प्रदेश १, लुम्बिनीलगायत प्रदेशमा फेरि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ । यससँगै कोरोना विशेष अस्पतालमा संक्रमितहरू भर्ना हुन थालेका छन् ।
प्रदेश १ को राजधानी विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा बिहीबार १ र शुक्रबार ५ जना भर्ना भएका छन् । सामान्य बेडमा ४ र आईसीयूमा २ जनाको उपचार भइरहेको छ । प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको यो अस्पतालमा आएका संक्रमितको उपचार थालिएको सामाजिक विकासमन्त्री उषाकला राईले बताइन् ।
लुम्बिनी प्रदेशको बुटवल रामनगरस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा बिरामी थपिँदै गएका छन् । ‘केही समय अस्पतालमा बिरामी भएनन् । अहिले आईसीयूमा तीन जनाको उपचार भइरहेको छ’, लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले भने ।
लुम्बिनी अस्पतालले सञ्चालन गरेको ‘फिबर क्लिनिक’मा स्वास्थ्य अवस्था सामान्य रहेका संक्रमितलाई राख्ने गरिएको छ । जटिल अवस्थाका बिरामीलाई आईसीयूमा भर्ना गर्ने गरिएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।