२८ चैत, पोखरा । १९औं संस्करणको ‘आहा रारा गोल्डकप’ फुटवल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलको पेनाल्टीमा ४–२ गोल अन्तरले अफ्रिकन रुट्स एशोसियसन क्यामरुनलाई पराजित गर्दै संकटाले उपाधि जितेको हो ।
निर्धारित समय र थप गरिएको ३० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेलेको निर्णय टाइब्रेकरबाट गरिएको हो ।
टाइब्रेकरमा संकटका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे भने सरोज दाहालको प्रहार अफ्रिकन रुट्सका गोलकिपर डा सेल्भियोले बचाएका थिए । अफ्रिकन रुट्सका यानिक र रिमले गोल गरे भने कुइटेको प्रहार बाहिरिँदा एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले बचाएका थिए ।
यसअघि १०औं मिनेटमै अफ्रिकन रुट्सले संकटाविरुद्ध अग्रता लियो । उसका मौसाको बासेकले गोल गरेका थिए । पहिलो हाफ १–० मै सकियो । ५१औं मिनेटमा ग्लोरीले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए ।
गोलकिपर राजाबाबुको लामो पासमा उनले गोल गरेका हुन् । खेलमा संकटालाई उपाधि दिलउने क्रममा गोलककिपर राजाबाबु श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरे । उनी खेलको म्यान अफ दी म्यच पनि बने । उपाधिसँगै संकटाले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्याे भने उपविजेता बनेको अफ्रिकन रुट्सले ५ लाख १ हजार रुपैयाँमा चित्त बुझायो ।