२८ चैत, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ । सीसीएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड–१९ संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपिल गर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रुपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको बताए । यस्तै, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरिएको छ ।
सीमानाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेस्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने काम गर्ने निर्णय पनि गरिएको छ ।
यस्तै, कुनै पनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रुपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सचिव बरालले बताए ।