
२९ चैत, जनकपुर । नेकपा एमालेले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ । नेकपा एमालेका नेता माधवकुमार नेपाल- झलनाथ खनाल पक्षले प्रदेश– २ को संसदीय दलको नेतामा महतोलाई चयन गरेको हो ।
आइतबार संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षका १३ जना सांसदहरुले महतोलाई संसदीय दलको नेता चयन गरेका हुन् । नेता चयन गरिएको सहमति पत्र प्रक्रियागत रुपमा प्रदेश सभाका सभामुख सरोजकुमार यादवलाई बुझाइएको छ ।
त्यस्तै, बैठकबाट रवीन्द्र बैठालाई उपनेता, सुन्दरबहादुर विश्वकर्मालाई प्रमुख सचेतक र बेची लुङ्गेलीलाई सचेतकमा चयन गरिएको छ । करिब ६ महिनापछि सोमबार बस्न लागेको प्रदेशसभा बैठकअघि नेपाल पक्षले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरेको हो । प्रदेश २ मा नेकपा एमालेका २१ जना सांसद छन् ।
जसमध्ये १३ जना सांसद नेपाल पक्षमा लागेका छन् भने ८ जना सांसद ओली समूहमा छन् । सोमबार बस्ने प्रदेशसभा बैठकमा नेकपा एमालेको संसदीय दलको नेताको भूमिका महतोले निर्वाह गर्नेछन् । माओवादी केन्द्र र नेकपा एमाले एकीकरण भएपछि संसदीय दलको नेतामा मण्डललाई चयन गरिएको थियो ।
त्यसयता नेकपाभित्र विवाद उत्पन्न भएपछि मण्डललाई हटाएर १९ जना सांसदले महतोलाई नेतामा चयन गरेका थिए । एमाले र माओवादी पुरानै नाममा फर्किंदा एमालेको संसदीय दलको नेता को हुने भन्ने अन्योल बढेको थियो ।