
३० चैत, काठमाडौं । भारतमा कोरोना संक्रमण बढेर दैनिक कीर्तिमान बनाउन थालेको छ । आइतबार भारतमा एक लाख ६९ हजार ९१४ संक्रमित पाइएका छन् । यसअघि शनिबार एक लाख ५२ हजार ५६५ संक्रमित फेला परेका थिए ।
संक्रमितको संख्यासँगै मृत्युदर पनि बढ्दै गएको छ । आइतबार कोरोना संक्रमणका कारण भारतमा ९०४ जनाको मृत्यु भएको छ । विगत ६ महिना यता एकैदिन कोरोना संक्रमणका कारण मृत्यु भएकाको यो नै सबैभन्दा ठुलो संख्या हो । यसअघि गत वर्ष अक्टोबर १७ मा कोरोना संक्रमणका कारण एक हजार ३२ जनाको मृत्यु भएको थियो ।
सक्रिय संक्रमितको संख्या सोमबार १२ लाख कट्ने अनुमान गरिएको छ । आइतबार सक्रिय संक्रमितको संख्या ११ लाख ९५ हजार ९६० पुगेको छ । आइतबार एकैदिन संक्रिय संक्रमितको संख्या ९३ हजार ५९० थपिएको थियो ।
प्रतिक्रिया दिनुहोस