
३० चैत, काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको हाँस्य श्रृंखलाबाट आफ्नो अभिनय यात्रा प्रारम्भ गरेर यतिबेला चर्चाको शिखरमा रहेका हाँस्य कलाकार तथा निर्देशक सीपी पुडासैनी ‘धतुरे’ ले नयाँ हाँस्य टेलिश्रृंखला ‘राम्रो म’ बनाउने भएका छन् ।
यसअघि उनी हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ मा आवद्ध थिए । हाँस्यश्रृखला ‘के जमाना आ’(नेपाल टेलिभिजन), क्या जमाना आ !’ (एपि वान टिभीमा), हे सिटामोल (नाइस टेलिभिजन)मा निर्माण प्रसारण गरेका सीपीले सबै श्रृखलामा ‘धतुरे’ पात्रलाई जिबित राखेका थिए । सोही पत्र समेत रहने गरेर उनले नयाँ श्रृखला बनाउन लागेका हुन् ।
अभिनयको अलवा श्रृखंला लेखन तथा निर्देशन समेत गर्दै आएका सीपीले माता पिता प्रोडक्सन प्रालिको ब्यानरमा ‘राम्रो म’ निर्माण गर्न लागेका हुन् । दर्शकका लागि आफ्नो भुमिका र कथा मार्फत केही नयाँ दिने सोचका साथ नयाँ श्रृखंलामा लागेको सिपीले बताए । ‘‘राम्रो म’मा दर्शकले धतुरेलाई केही फरक पाउनु हुनेछ’ सीपीले भने ‘दर्शक रुची अनुसार नयाँ श्रृखंला बन्ने छ ।’
श्रृखंलामा सीपीका अलवा रामचन्द्र अधिकारी, केशव सापकोटा, मेलिना ठकुरी, शिवहरि नेपाल, सोनाम लामा, रुपेश मण्डल, सीताराम श्रेष्ठ, सानु बोगटी, दीपु खड्का, प्रमोद खनाल लगायतको अभिनय रहनेछ । श्रृखंलाको शिर्ष गीतमा भने राजेश पायल राईको स्वर, प्रकाश पुञ्जको शब्द र शशी बिक्रम थापाको संगीत समेटिएको छ ।
पुडासैनी आफैले शीर्षक जुराएको उक्त हाँस्य टेलिश्रृंखलामा लेखन तथा निर्देशन पनि सीपी पुडासैनीकै हुनेछ । आगामी वैशाखको अन्तिम साता प्रसारणमा आउन लागेको यो हाँस्य टेलिश्रृंखलाको टेलिभिजन पार्टनर भने फाइनल नभइसकेको तर युट्युब पार्टनर चिरञ्जीवी प्रसाद पुडासैनी युट्युब च्यानल रहेको समेत उनले जानकारी दिए ।