
३० चैत, काठमाडौं । भारतको राँचीमा कोरोनाका कारण निम्तिएको मृत्युदरले सबै रेकर्ड तोडेको छ ।
पछिल्लो १० दिनमा राँचीको घाट र समाधि स्थलमा शवको संख्यामा अत्यधिक वृद्धि भएको छ । आइतबार सर्वाधिक ६० शवको अन्तिम संस्कार भएको छ । यीमध्ये १२ शव कोरोनाद्वारा संक्रमित थिए जसको दाह संस्कार सामूहिक चिता सजाएर गरियो ।
यसबाहेक ३५ शवलाई पाँचवटा समाधि स्थलमा जलाइयो र १३ शवलाई रातू रोडको कांटाटोली समाधि स्थलमा गाडियो । सबैभन्दा धेरै शवको दाह संस्कार हरमू मुक्ति धाममा भयो ।
भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार मृतकको संख्यामा यति धेरै वृद्धि भएको छ कि मुक्तिधाममा शव जलाउनका लागि ठाउँ कम भएको छ । मानिसहरुले घण्टौं प्रतीक्षा गरे तरपनि स्थान पाउन सकेनन् ।
त्यसैले खुल्ला रुपमा नै चिता सजाएर शव जलाउन थाले । समाधि स्थलमा ठाउँ नपाएका कारण मुक्तिधामको अगाडि सडकमा पार्किङस्थलमा नै शव राखेर अन्तिम संस्कार गर्न थालियो ।