मुख्य समाचार

आफ्नै नेतृत्वमा सरकार बनाउने जसपामा सहमति !

jasapa

३१ चैत, काठमाडौं । भावी सत्ता समीकरणका लागि निर्णायक ‘शक्ति’ मानिएको जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच आफ्नै नेतृत्वमा सरकार बनाउने समझदारी जुटेको छ । दुई दिनसम्म राजधानीमा बसेको पदाधिकारी बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक सममति जुटाएको जसपाका १ जना नेताले जानकारी दिए । तर, पार्टीका कुन नेताको नेतृत्वमा सरकार बनाउने भनेर टुंगोमा भने पुगि नसकेको ती नेताले बताए ।

जसपमा अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भावी प्रधानमन्त्री बन्ने ‘दौड’मा रहेका बुझिएको छ । केन्द्रीय कार्यालयमा दुई दिनसम्म चलेको जसपाको पदाधिकारी बैठक भने केही दिनका लागि स्थगित भएको छ । नयाँ वर्षका कारण केही दिनका लागि बैठक स्थगित भएको जनाइएको छ । बैठक बीचमै स्थगित गरेर जसपाका केही शीर्ष नेताहरु नयाँ वर्ष मनाउन काठमाडौं उपत्यका बाहिर गएका छन् । दुई दिनसम्म चलेको पदाधिकारी बैठकमा सत्ता समीकरणको विषयमा व्यापक छलफल भएको थियो ।

सरकार गठन र सत्ता समीकरणका विषयमा जसपाभित्र दुई लाइन छन् । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाएर भावी सरकार गठनमा सहभागी हुनुपर्न पक्षमा छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो माग पूरा हुने अवस्थामा ओली नेतृत्वकै सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालको माग पूरा गर्ने प्रकृया सुरु गरिसकेका हुनाले तत्कालै त्यसको विरुद्ध कुनै पनि क्रियाकलाप नगर्ने भनी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको तर्क थियो भने ओलीले माग पूरा गरे पनि त्यसको बहिर्गमनका लागि जसपा नेपालले पहल गर्नुपर्ने अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको तर्क थियो ।

जसपाका पाँचजना पदाधिकारीमा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो र अशोक राई छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस