
३१ चैत, काठमाडौं । काठमाडौं विश्व विद्यालय र नेपालस्थित भारतीय दूतावासले संयुक्त कार्यक्रमको आयोजना गरी अम्बेडकर जयन्ती मनाएको छ । सो कार्यक्रममा विश्व परिवेशमा बाबा साहेब भीम राव अम्बेडकरको सान्दर्भिकताबारे छलफल भएको थियो ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले आधुनिक भारतको निर्माणमा बाबा साहेब भीम राव अम्बेडकरको भूमिका तथा समाजका सीमान्तकृत वर्गको सामाजिक उत्थानमा उनको योगदान बारे चर्चा गरेका थिए । त्यस्तै, भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले विद्यार्थीहरुलाई ‘बाबा साहेब’ का विचारधारालाई अनुसरण गर्न आग्रह गरेका थिए ।
त्यस्तै डा.ऋषिकेश वाग्लेले आधुनिक भारतको निर्माणमा र भारतको राजनीतिक तथा सामाजिक—आर्थिक रुपान्तरणमा भारतको संविधानको भूमिकाबारे चर्चा गर्दै यसमा डा. अम्बेडकरको विशेष भूमिका बारे चर्चा गरेका थिए ।
सोही अवसरमा बाबा साहेब अम्बेडकरको जीवनीमा आधारित ‘मूक नायक’ नामक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा.भोला थापा, स्कुल अफ लका डिन डा.ऋषिकेश वाग्ले, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा.उद्घव प्याकुरेल, भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमार तथा प्राध्यापक डा.केदारनाथ शर्माको उपस्थिति थियो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।