विश्व/प्रवास

भारतमा २४ घण्टामा हालसम्मकै सर्वाधिक संक्रमित भेटिए, तीन दिन भित्रै ५ लाखभन्दा बढी पोजेटिभ केस

coronavirus in india

१ बैशाख, काठमाडौं । भारतमा कोरोनाभाइरस संक्रमणको आँकडा तीब्र रुपमा बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा पहिलो पटक १ लाख ८५ हजार १०४ नयाँ संक्रमित भेटिए । यसका साथै, यो अवधिमा ८२,२३१ जना निको भए भने १०२६ को मृत्यु भएको छ ।

यसअघि ११ अप्रिलमा सर्वाधिक १.६९ लाख नयाँ बिरामी भेटिएका थिए । १२ अप्रिलमा पनि पोजेटिभ बिरामीको आँकडा १.६० लाख पार भएको थियो । यो आँकडालाई हेर्ने हो भने पछिल्लो तीन दिनमा मात्रै भारतमा नयाँ बिरामीको संख्या करिब ५ लाखको आँकडा पार भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेशमा मुख्यमन्त्री कार्यालयका थुप्रै अधिकारी र कर्मचारी कोरोना पोजेटिभ भेटिएका छन् । त्यसपछि मुख्यमन्त्री योगी आदित्यनाथले आफूलाई आइसोलेट गरेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार देशव्यापी खोप उत्सवको तेस्रो दिन मंगलबार करिब ४० लाख मानिसहरुलाई भ्याक्सिनको डोज दिइयो । यसरी हालसम्म कूल ११.४३ करोडभन्दा बढीलाई भ्याक्सिन दिइसकिएको छ । यसअघि सोमबार ३७  लाख ६३ हजार ८५८ मानिसहरुलाई खोप दिइएको थियो ।

भारतको राजधानी दिल्लीमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारसँग सीबीएसईको १० र १२ को  परीक्षा रद्द गर्नुपर्ने माग गरेका छन् । उनले देशभरी संक्रमण तीब्र रुपमा बढिरहेका कारण परीक्षा गर्नु अत्यधिक खतरा हुने बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस