अटो

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन निर्माणको ठेक्का सम्झौता

contract sign

१ बैशाख, काठमाडौं । सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको छ ।

नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीन (वाङबाङ डिजिटल इनर्जीबीच मंगलबार संझौता भएको हो ।

३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको प्राधिकरणले जनाएको छ । एसियाली विकास बैकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिनेछन् । यसबाट ठूला बससहित तीनवटा सवारी–साधनले एकसाथ चार्ज गर्न सकिनेछ । ३०० भन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने प्राधिकरणले जनाएको छ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ ।

सवारी–साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा राखिने प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्यकामा सातवटा चार्जिङ स्टेसन राखिनेछ ।

यी स्थानमा हुनेछन् चार्जिङ स्टेसन
प्रदेश नम्बर–१ मा झापाको दमक, भद्रपुर र कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी पाँचवटा चार्जिङ स्टेसन रहनेछन् ।

प्रदेश नम्बर–२ मा पर्साको वीरगन्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर र जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी सातवटा चार्जिङ स्टेसन स्थापना हुनेछन् ।

वाग्मती प्रदेशमा धादिङको मलेखुमा दुई, सिन्धुलीको बीपी राजमार्गमा दुई, मकवानपुरको हेटौँडामा दुई, चितवनको भरतपुरमा दुई तथा मुग्लिन/कुरिनटारमा चार र काभ्रेको बनेपामा एक गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् ।

गण्डकी प्रदेशमा नवलपुर, तनहुँ, स्याङ्जामा एक/एक र कास्कीको पोखरामा तीन गरी ६ वटा चार्जिङ स्टेसन राखिनेछ ।

लुम्बिनी प्रदेशमा आठवटा चार्जिङ स्टेसनहरु रहनेछन् । बाँकेको नेपालगन्जमा एक, दाङको भालुवाङ तथा दाङमा एक/एक, रुपन्देहीको बुटवलमा एक, नवलपरासीको बर्दघाट/सुनवलमा दुई गरी ८ वटा चार्जिङ स्टेसन रहनेछन् ।

यस्तै, कर्णाली प्रदेशमा सुर्खेतमा एक र सुदूरपश्चिम प्रदेशमा तीनवटा चार्जिङ स्टेसन रहनेछन् । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा एक/एक गरी सुदूरपश्चिममा तीनवटा चार्जिङ स्टेसन रहने प्राधिकरणले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस