
१ बैशाख, काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सैनिक सेप्टेम्बर ११ सम्म फिर्ता भइसक्ने बताइएको छ । अमेरिकी अधिकारीले मिडियासँगको कुराकानीमा राष्ट्रपति जो बाइडेनले केही दिन भित्रै यसबारे घोषणा गर्ने अनुमान लगाएका छन् ।
ट्रम्प प्रशासनको तालिबानसँग भएको वार्तामा अमेरिकाले अफगानिस्तानबाट आफ्नो सैनिकलाई मेसम्म फिर्ता बोलाउने निश्चित भइसकेको छ । तर अब अमेरिका यो समयसीमाको पालना गर्न नसक्ने अवस्थामा देखिएको छ ।
अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुने नयाँ समयसीमा संयोगवश वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा सन् २००१ मा भएको हमलाको २० औं वर्षगाँठ वरिपरि हुनेछ । जो बाइडेनले यसअघि १ मेको समयसीमा पालना गर्न मुश्किल हुने बताएका थिए ।
अमेरिका र नेटोका अधिकारीले कट्टरपन्थी इस्लामी संगठन तालिबानले अहिलेसम्म हिंसा कम गर्ने आफ्नो बचन पूरा गर्न असफल रहेको बताएका छन् । बाइडेन प्रशासनका एक अधिकारीले मिडियासँगको कुराकानीमा यदि अफगानिस्तानबाट अमेरिकी सैनिकको फिर्तीका बेला कुनै हमला गरे यसको पूरा शक्तिसहित जवाफ दिइने बताएका छन् ।