
१ बैशाख, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्पेनमा भएको लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
उनी स्पेनको एक्सत्रेमदुरा प्रान्तको काथेरेस शहरमा भएको शान्ति सम्मेलनका लागि गत चैत २३ गते १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए । उनले सम्मेलन गौतम बुद्ध जन्मभूमि नेपाल र बुद्धको शान्ति सन्देश विश्वभर फैलाउने उद्देश्यले भएकाले निकै उपलब्धिमूलक भएको जानकारी दिए ।
शान्ति सम्मेलन लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेन, एक्सत्रेमदुरा प्रान्त र सोही प्रान्तको काथेरेस नगरपालिकाको संयुक्त आयोजनामा भएको थियो। सम्मेलनका क्रममा अध्यक्ष तिमिल्सिनले विभिन्न उच्चस्तरीय भेटघाटसमेत गरेको उनका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस