
२ बैशाख, काठमाडौं । ताप्लेजुङमा वर्षको सुरुआतमा कोरोना कहरका बीचमा सुरु भएको आगलागीका घटना अन्त्यसम्म नै रोकिएनन् । जेठ, असार, साउन र असोजमा एक–एक घर जल्दा ९ लाख ३ हजारबराबरको क्षति भयो । कात्तिकमा २ घर जले । ६९ लाख १० हजार मूल्यबराबरको क्षति भयो । ३ जना घाइते भए। मंसिर र पुसमा ३–३ घर जल्दा १८ लाख १० हजारको क्षति भएको प्रहरीको तथ्यांक छ ।
पुसको पहिलो हप्तादेखि प्रसिद्ध तीर्थस्थल पाथीभराको वनमा लागेको डढेलो महिना दिनपछि मात्रै पूर्ण नियन्त्रणमा आएको थियो । डढेलोबाट पाथीभराको मन्दिर बचाउन सिम्रिक एयरको हेलिकप्टरसमेत प्रयोग गरिएको थियो। नेपालमै पहिलो पटक डढेलो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो ।
पुस १३ गते हेलिकप्टरबाट पानी खन्याएपछि मन्दिर क्षेत्र सुरक्षित भयो । वनको आगो निभाउन त्यसपछि पनि सुरक्षा निकाय, मन्दिरका कर्मचारी र स्थानीय महिनैभरि खटिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउँछन् ।
‘मन्दिर र आसपासका धर्मशाला बचाउन अन्तिम विकल्पको रूपमा हेलिकप्टरको प्रयोग गरेका थियौं,’ उनी भन्छन्, ‘हेलिकप्टरले पाँच पटक पानी हालेपछि आगो मन्दिरसम्म पुग्न पाएन । मैले थाहा पाएयता पाथीभराको वनमा पहिलोपटक आगो लागेको हो ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।