
३ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । दुवै पक्षका कार्यदलका सदस्यको उपस्थितिमा भएको वार्ता सकारात्मक भए पनि सहमति केही भएको छैन । थप आन्तरिक छलफल र परामर्श गरेर पुनः वार्तमा बस्ने जानकारी ठाकुरले दिएका छन् । प्रधानमन्त्री ओली र ठाकूरबीचको वार्तापछि बालुवाटारमै कार्यदलको छलफल भएको छ ।
कार्यदलमा सरकारी पक्षबाटसंसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण वार्तामा बस्दै आएका छन् । प्रधानमन्त्रीसँग वार्तामा ठाकुरले पहिले जसपाले राखेका माग र सर्त सम्बोधनका लागि सरकारबाट ठोस् पहल भएपछि मात्र आफूहरूले सहयोगबारे छलफल गर्नसक्ने बताएका थिए । उनले पटकपटक धोखा पाएकोले अब आफूहरू उधारोमा डिल नगर्ने बताउँदै जे गर्ने हो क्यासमै गरौं भनेका थिए ।
जसपाले ओली नेतृत्वसँग साझेदारीका लागि कैलालीका सांसद रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ, मधेस आन्दोलन, टिकापुर लगायतका घटनामा लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने, पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गरिएको टिकापुर घटनाको न्यायिक छानविन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र मधेसको माग सम्बोधन गर्न संविधान संशोधन,नागरिकता विधेयकमा संशोधन गर्नुपर्ने सर्त राख्दै आएको छ । यो समाचार आजको अन्नपूर्णपोस्ट छ ।