
३ बैशाख, काठमाडौं । सीमासम्बन्धी बैठक बस्न नेपालले तारन्तार पहल गरे पनि भारतले बेवास्ता गरेको छ ।
नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रुपमा नै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले कुनै जवाफ पठाएको छैन । भारतको बेवास्ताले प्रत्येक वर्ष हुनुपर्ने बीडब्लूजी बैठक प्रभावित भएको हो ।
बीडब्लूजीको पछिल्लो बैठक सन् २०१९ नोभेम्बरमा देहरादुनमा भएको थियो । ‘कोभिडका कारण फिल्डमा जान सम्भव नरहेको जस्ता कारण देखाएर भारतले अनौपचारिक रुपमा बैठकको मितिप्रति असहमति जनाएको छ तर औपचारिक जवाफ आएको छैन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।
नेपालले गत वर्ष जुलाईमा पहिलोपटक बैठकका लागि दुई वटा मिति प्रस्ताव गरेको थियो । भारतले कुनै जवाफ दिएन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस