मुख्य समाचार

मुख्यमन्त्री पोखरेलविरुद्ध ४२ जना सांसदको हस्ताक्षर

Shankar Pokhrel

३ बैशाख, काठमाडौं । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेइतरका राजनीतिक दलहरू अविश्वास प्रस्तावको कसरतमा जुटेका छन् । वर्तमान मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट बिदाई गर्ने पर्ने निष्कर्षसहित कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अविश्वासका प्रस्ताव दर्ताका लागि अन्तिम टुंगोमा पुग्नेगरी कसरत थालेका हुन् ।

मुख्यमन्त्री पोखरेललाई सरकारको नेतृत्वबाट हटाउने अन्तिम निर्णयमा पुगिसकेका यी दलहरूले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षरसमेत संकलन गरिसकेका छन् । एमालेका ४१ र जनता समाजवादी पार्टीका एकजना सांसदबाहेक ४२ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षरसमेत गरिसकेको स्रोतले बताएको छ । उक्त हस्ताक्षर आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई बुझाइएको र यो हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी भएको स्रोतको दाबी छ ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हामीले हस्ताक्षर गरिसकेका छौँ,’ कांग्रेसका एक सांसदले भने। स्रोतका अनुसार प्रदेशसभामा रहेका कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादी पार्टीका ५ र राष्ट्रिय जनमोर्चाका एक सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरिसकेका छन् । यो संख्या प्रदेशसभाको कुल सांसद संख्याको अल्पमत नै हो । मुख्यमन्त्रीविरुद्ध बहुमत जुटाउनका लागि थप एक सांसदको आवश्यकता पर्छ ।

तर जसपाको महन्थ ठाकुर समूहका एक सांसदले भने मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरेका छैनन् । यी सांसद कल्पना पाण्डे हुन् । उनलाई मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर नगर्न पार्टी उपल्लो तहबाट आएको निर्देशनका कारण हस्ताक्षर गर्न सकस भएको जसपा स्रोत बताउँछ । जसपाका अन्य ५ सांसदले भने हस्ताक्षर गरिसकेका छन् । आजको नागरिक दैनिकमा यो समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस