विश्व/प्रवास

क्युबाको कम्युनिष्ट पार्टी प्रमुख राहुल क्यास्ट्रोद्धारा पद त्याग्ने घोषणा

raul castro

४ बैशाख, काठमाडौं । क्युबाको कम्युनिष्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गरेका छन् । उनले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पद त्याग्ने निर्णय गरेको शुक्रबार बताएका हुन् ।

“मैले मेरो जिम्मेबारी र योजनाहरु पुरा गरेको छु, त्यसैले मैले पार्टीको केन्द्रीय कमिटिको प्रथम सचिवको जिम्मेबारीबाट मुक्त हुने निर्णय गरेको छु,” उनले भने ।  उनले आफ्नो भूमिका र निर्णयबाट आफू सन्तुष्ट रहेको र आगामी दिनमा पनि देशलाई फाइदा नै हुने विश्वास व्यक्त गरे ।

पार्टीको आठौँ सम्मेलनको उद्घाटन समारोहमा सम्वोधन गर्ने क्रममा उनले पार्टी र देशलाई नयाँ गति दिन आफ्नो निर्णयले सहयोग पुग्ने अपेक्षा पनि गरे । पार्टीको अभियान र आन्दोलनमा भने पार्टी कार्यकर्ताको रुपमा आफू सधै रहिरहने पनि ८९ वर्षीय नेता क्यास्ट्रोले स्पष्ट पारे ।

“म जीवित रहँदासम्म, मैले सक्दासम्म पार्टीको काममा म सधैँ लागि नै रहनेछु, मातृ भूमिका लागि खटिनेछु,” उनले भने । उनले आफ्नो उत्तराधिकारी हुने र पार्टीको नेतृत्वमा रहने सवै नेताहरुलाई राष्ट्रियता, समाजवाद, नैतिकता, संस्कृतिको महत्व नभुल्न समेत सचेत गराए।

अहिले चलिरहेको पार्टीको सम्मेलन नयाँ नेता चयन गर्दै आगामी सोमबार सकिने भएकाले सम्मेलन सकिएपछि उनी जिम्मेबारीमा नरहने जनाइएको छ । उनी सन् २०११ को अप्रिलमा पार्टीको शिर्ष नेताका रुपमा निर्वाचित भएका थिए । आफ्नै दाजु फिडेल क्यास्ट्रोको उत्तराधिकारीका रुपमा उनले भूमिका निर्वाह गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस