मुख्य समाचार

‘सेना परिचालन गरेर तत्काल सीमा नाका बन्द गर्नुपर्छ’

Dr. Sundarmani Dixit

४ बैशाख, काठमाडौं । नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपाल कोरोना संक्रमणको जटिल अवस्थामा पुगिसकेकोले तत्काल सीमा नाका बन्द गर्नुपर्ने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘अहिले स्थिति एकदमै जटिल अवस्थामा पुगिसकेको छ, अस्पतालमा अब आईसियु बेड छैनन्, अक्सिजन छैन । भेन्टिलेटर त छँदै छैन् । अहिले जटिल अवस्थामा पुगेकोले हामीले के गर्ने भन्ने कुरा निक्र्यौल गर्नुपर्छ । सिमा नाकाहरु तुरुन्तै बन्द गर्नुपर्छ । तत्काल कडाईका साथ सिमा नाका बन्द गर्नुपर्छ । र, सिमाको व्यवस्थापनमा अब नेपाली सेनालाई खटाउनुपर्छ । त्यहाँ सिभिलियनले अब नियन्त्रण गर्न सक्दैनन् । काठमाडौं उपत्यकाको नाका पनि तत्काल बन्द गर्नुपर्छ । कडाई गर्नुपर्छ ।’

उनले आईसोलेशन र क्वारेन्टिनको व्यवस्थापनि पनि प्रभावकारी रुपमा गर्नुपर्ने बताए । उनले जनता अहिले असाध्यै सतर्क हुनुपर्नेमा जोड दिँदै भने,‘अहिले जात्रा र पर्व मनाउने बेला होईन् । धर्म, संस्कृति र परम्परा बचाउनको लागि जात्रा नगरौं । मान्छे नै बचेनन् भने धर्म, संस्कृति कसरी बच्छ ? हामीले दुवै कुरालाई मिलाएर जानुपर्छ ।’

उनले अहिले आफूहरुले (नागरिक) ले के गर्ने र सरकारले के गर्ने ? भन्नेबारे भूमिका र जिम्मेवारी निर्धारण हुनुपर्ने पनि सुनाए । उनले भने,‘अहिले कोरोनाको यस्तो जोखिम बढेको छ । तर, हामी जनताले असाध्यै यसलाई बेवास्ता गरेका छौं । जुन देशमा जनताले बेवास्ता गरेका छन्, त्यहाँ कोरोनाको अवस्था भयावह छ, तर जुन देशमा जनता अनुशासित भएका छन्, ती देशमा कोरोना नियन्त्रण भएको छ । त्यसैले हामी नेपालीहरुले पनि लापरवाही गर्नुहुँदैन ।’

उनले नेपालका राजनीतिक दल र यसका नेताहरुलाई अहिले कोरोनाको जोखिमको समयमा भीडभाड गर्न नहुने कुरा थाहा हुँदाहुँदै पनि जनताको वास्ता नगरी खाली आफ्नो स्वार्थको लागि अघि बढेको आरोप लगाएका छन् । उनले भने,‘नेताहरुले अहिले तिमी जनता मरे मर, तर हामीलाई माथि पुर्याईदेउ भन्ने मात्रै ध्यान छ ।’ उनले पब्लिक पनि अब एकदमै सचेत हुनुपर्नेमा जोड दिए । उनले नेपालमा कोभिडविरुद्धको खोपपनि पर्याप्त मात्रामा नभएको अवस्था सुनाए । उनले भने,‘भारतले पनि दिन सकेको छैन् । अरु देशले पनि दिन सकिरहेका छैनन् । नेपाल सरकारले अब जहाँबाट भएपनि किनेर ल्याउनुपर्छ । सबै जनतालाई खोपको व्यवस्था गर्नुपर्छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस