अर्थनीति

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले वैशाखभित्रै उत्पादन सुरु गर्ने

Upper Tamakoshi

५ बैशाख, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वैशाख महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ । संसद्को अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने जानकारी गराएका हुन् । उनले पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तीव्र पारिएको बताए । उनले भने, ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ ।’

बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमश उत्पादन थप्दै लगिने बताए । यसरी आगामी भदौ महिना भित्रमा माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले बताए । उनले भने, ‘हामी वैशाखभित्रमा पहिलो युनिट र लगातार जेठ, असार, साउन, भदौ हुँदै हरेक महिना थप ७६ मेगावाट थप्दै भदौसम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत सिस्टममा ल्याउँछौँ ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले समय तालिकाअनुसार जेठ २ गते माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन सुरु गर्ने रहेपनि वैशाखको ३१ गतै नै पहिलो युनिटबाट उत्पादन सुरु गर्ने गरी काम भइराखेको बताए । वैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेको भएपनि एक दुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिन पछि विद्युत उत्पादन सुरु हुँदा वैशाख ३१ गते सम्भव हुने बताए ।

उनले भने, ‘वैशाख २० गते पहिलो मेसिन घुमाउँछौँ । त्यसमा पनि सबै कुराले साथ दियो भने एक दुई दिन अगाडि आउनसक्छ तर अहिले २० गते भनेका छौँ । त्यसपछि उत्पादन सुरु गर्ने त्यसको १३ देखि १४ दिन भनेको जेठ २ गते हो तर त्यसलाई पनि हामीले स्विच गरेर वैशाख ३१ गते आशा गर्दैछौँ । तर अहिलेको तालिकाअनुसार जेठ २ गते भनेर गरेका छौँ । त्यस हिसाबले पहिलो युनिट आइसके पछाडि असार मसान्तसम्म चारवटा युनिट आउँछ र साउन मसान्त सम्ममा बाँकी २ वटा युनिट गरेर ६ वटा युनिट आउने अवस्था रहेको छ ।’

आयोजनाको काममा ढिलाइ भएको भन्ने भएपछि आफू एक दुई दिनअघि मात्रै आयोजना स्थलको अनुगमनमा पुगेको बताउँदै कार्यकारी निर्देशक शाक्यले यही गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने पनि बताए । साउन मसान्तसम्ममा आयोजनाका ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु भइसक्ने उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *