उद्योग-वाणिज्य

‘निजी क्षेत्र एक ढिक्का भएमात्र उद्योग व्यवसाय बलियो हुन्छ’

nubs

५ बैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले निजी क्षेत्रका प्रतिनिधि संस्थाबीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन् ।

निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने उनीहरुको जोड छ । निजी क्षेत्रले उठाएका मुद्दाहरू कार्यान्वयन हुने र आर्थिक विकासमा समेत बलियो उपस्थिति जनाउन सकिने हुंदा संस्थागत सहकार्य र कार्यगत एकताको विषयलाई जोडतोडका साथ अगाडि बढाउनु पर्नेमा दुवै संस्थाका पदाधिकारीले जोड दिएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल चेम्बर अफ कमर्सको हालै सम्पन्न ७० औं वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्षसहित पदाधिकारीहरूको स्वागतमा आज महासंघ सचिवालयमा आयोजित कार्यक्रममा सो कुरामा जोड दिएका हुन् ।

संस्थागत सहकार्य र कार्यगत एकताकै कारण पछिल्लो पटक कोभिड पश्चात अर्थतन्त्रको पुनरूत्थान लगायत उद्योग व्यवसाय क्षेत्रलाई राहतका प्याकेज ल्याइनुपर्ने विषय, राजनीतिक दलबाट आव्हान भएको बन्द लगायतका विरोधका कार्यक्रम, कृषिमा विदेशी लगानी खुला गर्ने लगायतका विषयमा प्रतिनिधि संस्थाहरूको संयुक्त धारणाबाट निकै बलियो सन्देश गएको समेत व्यवसायीहरुले बताएका छन्।

‘एकता नै बल हो भन्ने कुरालाई हामी तीनैवटा संस्थाहरूले मनन गरेर अगाडि बढ्नुपर्छ महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘हामी एक अर्काका प्रतिस्पर्धी होइन बरु एक अर्काका परिपूरक हौं । आउने समयमा पनि एक भएर हाम्रा मुद्दाहरूमा कार्यगत एकता गरौ, सहकार्यलाई घनिभूत ढंगले अगाडि बढाऔं । हामीले बोल्ने भाषा एकै हुनुपर्छ । हामीले एकता देखाउन सक्यौ भने हामी अझ बलियो हुन्छौं’ गोल्छाले भने ।

सो अवसरमा अध्यक्ष गोल्छाले महासंघले सिंगो निजी क्षेत्रकै प्रतिनिधित्व गर्दै राष्ट्रिय आर्थिक रूपान्तरण २०३० को महत्वपूर्ण भिजन पेपर सार्वजनिक गरेको बताउँदै उक्त भिजन पेपर कार्यान्वयनका लागि एकजुट हुन जोड दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस