
६ बैशाख, पोखरा । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेपनि पोखरामा भने तत्काल विद्यालय बन्द नहुने भएको छ ।
पोखरा महानगरपालिका र निजी विद्यालयका छाता संगठनबीच विद्यालय बन्द नगर्ने सहमतिबमाेजिम तत्काल पोखरा महानगरभित्रका विद्यालय बन्द नहुने भएको हो । कोरोना संक्रमण बढेसँगै विद्यालय क्षेत्र संक्रमणको जोखिमा रहेको भन्दै सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेपनि पोखरामा भने विद्यालय बन्द नगर्ने सहमति भएको छ ।
पोखरा महानगर प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ सहितका सरोकारवालाहरुबीच भएको बैठकले विद्यालयमा आउने समस्याका आधारमा बन्द गर्ने वा नगर्ने भन्ने निर्णय भने स्वयं विद्यालयले गर्ने निर्णय भएको महानगर शिक्षा प्रमुख हेम आचार्यले जानकारी दिए । उनले सवै विद्यालयहरूले परीक्षा बैशाख महिना भित्रै लिइसक्ने निर्णय भएको समेत बताए ।