मुख्य समाचार

एन्टिजेन पोजेटिभ देखिएकी महिलाको अस्पताल चहार्दा चहार्दै मृत्यु

corona death nepal

६ वैशाख, विराटनगर । कोरोना संक्रमित महिलाको विराटनगरका अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेकी ३५ वर्षीय जैनव खातुनको सोमबार बिहान मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोमबार बिहान करिब ३ बजे विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । इमर्जेन्सीबाट आईसीयूमा ‘सिफ्ट’ गर्नुअघि एण्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि अस्पतालले भर्ना गर्न मानेन ।

आफन्तले गोल्डेन अस्पतालबाट बुढीगंगा गाउँपालिका–२ मा रहेको  करिब ८ किलोमटर टाढा विराट मेडिकल कलेजमा पुर्‍याए । तर अस्पतालले भर्ना लिन मानेन । ‘अवस्था गम्भीर भएकाले हतार–हतार गर्दै सुरुमा गोल्डेन लग्यौं । एण्टीजेन पोजेटिभ देखिएपछि गोल्डेनले फर्कायो,’ एम्बुलेन्स चालक राजा मियाले भने, ‘विराटले पनि भर्ना गर्न मानेन, त्यहाँबाट कोशी अस्पताल लग्यौं ।’

कोशी अस्पताल पुर्‍याउँदा करिब साढे ४ बजेको थियो । तर एण्टीजेन पोजेटिभ केस भन्दै अस्पतालले आइसोलेसनमा राख्यो र पीसीआर परीक्षण नगरी उपचार शुरु नहुने बतायो । आफन्तले विरामीलाई लिएर नोबेल मेडिकल कलेज पुर्‍याए ।

कोशी अस्पताल लैजानु अघि सम्पर्क गर्दा म्याक्स अस्पतालमा सम्पर्क गरे, तर फोनमै  विरामी नल्याउन भनियो । त्यसपछि नोबेल पुर्‍याए । तर एण्टीजेन पोजेटिभ भएको जानकारी पाएपछि नोबेल मेडिकल कलेजले पनि आईसीयू छैन भन्दै विरामीलाई फर्कायो । आफन्तले पुनः कोशी अस्पतालमा लगे । त्यसबेला बिहान ६ बजिसकेको थियो ।

आइसोलेसनमा राखेर उपचार शुरु गर्दैगर्दा महिलाको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. चुमनलाल दासले बताए । ‘उहाँको एन्टिजेन पोजेटिभ हो, पिसिआर भएको थिएन,’ उनले भने, ‘अक्सिजनको लेभल पनि निकै कम थियो ।’  बिरामीको मृत्यु भएपछि आफन्तले शव घर लिएर गएका छन् ।

श्वासप्रश्वासमा समस्या भएकी महिलालाई उदयपुरबाट विराटनगरसम्म आइपुग्दा दुई सिलिन्डर अक्सिजन सकिएको थियो । तर विराटनगरका अस्पतालले भर्ना गर्न नमानेका कारण उपचार अभावमै उनको मृत्यु भएको परिवारजनको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस