मुख्य समाचार

ओलीमा हिटलर प्रवृत्ति देखियो : माधव नेपाल

madhav nepal

६ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृत्ति रहेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली तर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले अपनाएको शैली हिटलरी भएको बताएका हुन् ।

यस्तै प्रधानमन्त्री बनाउन जसले भर्‍याङ चढाए उसैलाई ओलीले लात हानेर सडकमा पुर्‍याईदिएको पनि टिप्पणी गरे । यस्तै प्रधानमन्त्री ओलीले केही खास मान्छेहरुलाई किनेर भजनमण्डली बनाएको पनि आरोप लाए । आफ्नो आदेश अनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने पनि बताए ।

उनले भने, ‘हाम्रै देशमा कतिपयहरु छन्, नजितुन्जेलसम्म ठुला ठुला कुरा गर्छन् जितेको भोलिपल्ट आफुलाई सम्राट ठान्ने गर्दछन् । जितेको भोलिपल्ट जुन भर्याङ चढेका हुन्छन्, त्यो भ¥याङ्लाई लात्तिले पुक्क फालेर हिर्काएर फालिदिन्छन् र पुक्क फालिएकाहरु सडकमा पछारिन्छन्, त्यसपछि उनीहरु बिजोग हुने स्थितिमा पुग्न खोज्छन् । तर आँटिलाहरु फेरि उठ्छन्, जिउमा धुलाहरु हुन्छन्, त्यो फेरि फालेर, जिउबाट हटाएर उ फ्रेस भएर अगाडि बढ्छ ।

धुलो टकटक्याउने र हटाउने, चुनौतीको सामना गर्ने र  उज्यालो भविष्यको दिशातर्फ अगाडि बढ्ने, उज्यालो भविष्य के हो त ? राजतन्त्रमा फर्किने होइन, संविधानलाई मास्ने पनि होइन, पुरानो समाजतर्फ जाने पनि होइन, प्रतिगमनतर्फ जाने पनि होइन, अधिनायकवादी चिन्तन र विचारलाई हावी हुन दिने पनि होइन, कसैको व्यक्तिगत लहडको आधारमा चल्ने पनि होइन, व्यक्ति पूजालाई प्रोत्साहन दिने पनि होइन । असल कुराहरु कहीँबाट हुन्छ भने अवश्य पनि त्यसलाई विना पूर्वाग्रह हामीले राम्रो भन्न सक्नुपर्छ । यसर्थमा राम्रो के हो नराम्रो के हो आदेश दिएर हुँदो रहेनछ । आदेश दिएर पार लाग्दैन । त्यसको निम्ति खासखास मान्छेलाई किनेर आफ्नो पक्षमा भजन मण्डली बनाएर भजन मण्डलीको माध्यमबाट प्रचार गरेर पनि हुँदैन । त्यो प्रचार होइन त्यो कुप्रचार हुन पुग्दछ र कुप्रचारको अन्त्यमा पतन हुन्छ । हार हन्छ । किन भने हिटलरले यस्तै कोसिस गरेको थियो । हिटलरको कोसिस समाप्त भयो । हिटलर सँगसँगै एउटा अध्याय समाप्त भयो ।’

नेता नेपालले संसदले राम्रो भूमिका निर्वाह गर्दैगर्दा पनि आफ्नो समर्थनमा नभएपछि प्रधानमन्त्री ओलीले संसदलाई नै घाँडो ठानेको पनि बताए ।  नेपालले आफूले सकेसम्म सबैलाई सुधार्ने कोसिस गर्ने पनि बताए । अहिले आफूले कुनै व्यक्तिको विरोध गरेको नभई गलत प्रवृतिको विरोध गरिरहेको पनि स्पष्ट पारे । तर प्रतिगमनले फेरि सताएको पनि नेता नेपालले बताए । विगतमा राजतन्त्रले सताएको र त्यसलाई पार लगाएपछि गणतन्त्र स्थापना भएको तर पनि प्रतिगमनले नछोडेको अनुभूति भएको पनि बताए ।

तर अन्त्यमा सत्यकै जित हुने विश्वास आफूहरुको रहेको पनि बताए । उनले भने, ‘यो प्रतिगमनले धेरै सताएको छ । धेरै सतायो, राजतन्त्र हुँदा खेरी पनि प्रतिगमनले सताएको थियो । अब त प्रतिगमनलाई पार लगाइयो भन्यौं गणतन्त्र आयो फेरि प्रतिगमनकै हातमा छ । यो प्रतिगमनको कालो बादल कहिले सम्म मडारिने हो हामी त्यसको प्रतिक्षामा छौं । अन्त्यमा फेरि पनि सत्यकै जित हुन्छ, प्रतिगमनको हार हुन्छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस