मुख्य समाचार

प्रधानमन्त्री ओली भारतको शरणमा पुगे : सभापति देउवा

sher bahadur deuba

६ बैशाख, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाएका छन् । सोमबार नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भारत विरोधी नाराबाट उदाएका ओली अहिले भारतसामु त्वंशरणम् भएको बताएका हुन् ।

त्यसैले प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको पनि स्पष्ट पारे । कम्युनिष्टहरू अवसरवादी भएकोले अहिले नै काँग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको बताए । आशा नभएपनि सम्भावना भएकोले आफूले सरकार परिवर्तन गर्ने विषयमा छलफल गरिराखेको पनि बताए ।

उनले भने, ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाको त्वंशरणम् भए । भारत विरोधी नाराबाट झुल्केका ओली अहिले भारतको टाङमुनि छिरिनै सके । कहाँ छ उनको राष्ट्रवाद । त्यसकारण यिनीहरु राष्ट्रवादी पनि होइन, केही होइन । यिनीहरु खाली एउटा अवसरवादी हुन् । त्यसकारण हेर्दै जाऔं परिस्थिति के हुन्छ । मैले धेरै आशा पनि राखेको छैन र सम्भावना पनि उत्तिकै छ । राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन । आर्ट अफ पोसिबिलिटी पनि भन्छन त्यसकारण हामीहरू लागिरहेका छौं ।’

आफूले प्रधानमन्त्री ओलीलाई हटाउन नचाहेको भन्ने कुरा सत्य नभएको पनि सभापति देउवाले बताए । ओली सरकारले हरेक ठाउँमा हतकडी लगाएर राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको पनि बताए। त्यसैले ओलीलाई हटाउने कुरामा सल्लाह भइराखेको र अहिले नै भन्न सक्ने स्थिति नरहेको देउवाको भनाइ थियो । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने पनि सभापति देउवाले बताए ।

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार संवैधानिक निकायहरुलाई कब्जा गर्ने उद्देश्यसहित अगाडि बढीरहेको बताए। त्यसका लागि सरकारी संयन्त्र र शक्तिको भरपुर दुरुपयोग भइरहेको उनको आरोप थियो । न्यायपालिका, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग सबैको निष्पक्षता र स्वतन्त्रता गुम्ने खतरा रहेको पनि सिटौलाले बताए ।

नेता सिटौलाले सरकारबाट प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रतामाथि पनि अङ्कुस लगाउने खतरा बढेको आरोप लगाए। सरकार जसरी पनि संवैधानिक प्रबन्धको दुरुपयोग गरी सिङ्गो लोकतन्त्रमाथि प्रहार गर्ने दिशामा अगाडि बढीरहेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *