
६ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने बताएका छन् । संसद पुनर्स्थापना भएपनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्या समाधान हुने सम्भावना एकदमै कम रहेको उनले बताए ।
सोमबार बालुवाटारमा बसेको पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले अध्यक्ष ओलीका राजनीतिक प्रतिवेदन पास गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएपनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्याहरुको समाधान हुने सम्भावना एकदमै कम देखिएको निष्कर्ष प्रतिवेदनमा रहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार प्रतिवेदनमा नेकपाको तीन वर्षे कार्यकालको समीक्षा समेत गरिएको छ । त्यसैगरी उक्त प्रतिवेदनमा आगामी कार्यभारका रुपमा पार्टी संगठन विस्तार, विचार निर्माण र एमालेलाई देशको प्रमुख शक्तिका रुपमा स्थापित गर्ने तथा तीनै तहका सरकार सक्रिय बनाउने उल्लेख छ । ‘कुनैपनि बेला निर्वाचनमा जानुपर्ने भएकाले तयार रहन अध्यक्षले निर्देशन दिनुभएको छ’, बैठकका निर्णय सुनाउँदै प्रवक्ता ज्ञवालीले जानकारी दिए । बैठकले माधव नेपालसहित कर्णाली प्रदेशमा फ्लाेर क्रस गर्ने ८ जना नेतालाई अन्तिम पटक स्पष्टिकरण साेध्ने निर्णय गरेकाे छ ।
त्यसैगरी महासचिव ईश्वर पोखरेलले बैठकमा पेश गरेको सांगठानिक प्रतिवेदनमा भदौभित्र जिल्ला, वडा हुँदै मंसिरमा महाधिवेशनमा गर्ने गरी कार्यतालिका पारित पारित भएको छ । एमालेको अर्को बैठक वैशाख १० गते बस्नेछ ।