७ बैशाख, काठमाडौं । कोरोना महामारीले तीव्र रूप लिँदै गएपछि सरकारले होटेल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । तर घरमै डेलिभरी गर्न भने कुनै रोक लगाइएको छैन ।
सरकारले मेला, महोत्सव, जात्रा, व्रतबन्ध, मलामीलगायत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्दा २५ जनाभन्दा बढी भेला हुन नहुने र पार्टी प्यालेसमा विवाहलगायत कार्य गर्नुपर्ने भए सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर २५ जनाभन्दा बढी उपस्थित नहुने गरी गर्न सकिने आदेश जारी गरेको छ ।
यसैगरी सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्विमिङ पुललगायत भिडभाड हुने ठाउँलाई भने वैशाखभरि बन्द गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए । यसैगरी धार्मिक स्थलमा वैशाख मसान्तसम्म नित्य पूजा मात्रै गर्न/गराउन, एकपटकमा २५ जनाभन्दा बढी उपस्थित नहुन र सबैलाई मास्क अनिवार्य गर्न पनि आदेश दिइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।