
९ बैशाख, काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहका २७ सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । मंगलबार ओलीले तीन दिने म्याद राखेर संघका २७ र प्रदेशका ५ सांसदलाई सोधेको स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।
उनीहरुमध्ये केहीले एमाले संसदीय दलको कार्यालय त केहीले इमेलमार्फत जवाफ बुझाएका हुन् । अध्यक्ष ओलीले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई भने २ दिनको समय र अन्यलाई ३ दिनको समय दिएर स्पष्टीकरण सोधेका थिए । ओलीले चित्तबुझ्दो जवाफ नदिए सांसदबाटै हटाउने चेतावनी दिएका थिए ।
नेता सुरेन्द्र पाण्डेले पनि आजै स्पष्टीकरणको जवाफ पठाएका छन् । उनले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चालेको कदम पार्टी विधान विपरित मात्रै भएर नेपालबाट कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने प्रकृतिको भएको बताएका छन् ।
पाण्डेले एमाले संसदीय दलका नेता ओलीले सोधेको प्रष्टीकरणको जवाफ बुझाउँदै आफ्नो नभै प्रधानमन्त्री ओलीको कदम विधान विपरित भएको बताएका हुन् । ‘पार्टी अध्यक्ष कमरेड केपी ओलीले हाल चालिरहेका कदमहरु पार्टी विधान विपरित त छन् नै, सो भन्दा पनि बढि नेपालको कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने प्रकृतिका भएकाले यो सबै प्रकृया अविलम्व रोकी पार्टीलाई एकतावद्ध गर्न आवश्यक पहल गर्नसमेत आह्वान गर्न चाहन्छु’ पाण्डेले भनेका छन् ।
चार पृष्ठको प्रष्टीकरण पत्रमा नयाँ पार्टी गठन गरेको भन्ने आरोपलाई कपोलकल्पित भएको बताएका छन् । उनले चैत ४ र ५ गते ललितपुरमा आयोजना गरेको राष्ट्रिय कार्याकर्ता भेला नयाँ पार्टी खोल्न नभै नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक मार्ग निर्देशन र विधानको प्रतिरक्षा तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एकता र हितमा उक्त प्रयोजन र उद्देश्यका लागि आयोजित कार्यक्रम भएको बताएका छन् ।
यस्तो छ पाण्डेको स्पष्टीकरण :