मुख्य समाचार

पशुपति क्षेत्रका सबै मन्दिर शुक्रबारदेखि बन्द गरिने

pashupati nath temple

९ बैशाख, काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले जानकारी दिए ।

फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले आज जारी गरेको सूचनामा उल्लेख छ ।

सोही ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द गरिने उनले बताए । पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ । गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर विसं २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि एक बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने महाशिवरात्रिका अवसरमा फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । मन्दिर भने महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि मात्र साविक बमोजिम नै पूरा समय खुला गरिएको थियो ।

अन्य क्षेत्र खुला गरिँदा समेत पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा भक्तजनलाई प्रवेश नदिइएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घ संस्थाले त्यसबेला विरोधसमेत जनाएका थिए । मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आह्वान गरेको छ । घाट सेवामा आउने सबैलाई अनिवार्य रुपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस