खेलकुद समाचार

नेपाल सुपर लिग भोलिबाट, विजेताले ३५ लाख रुपैयाँ पाउने

nepal super league

१० बैशाख, काठमाडौं । भोलीबाट काठमाडौंमा आयोजना हुन लागेको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेताले ३५ लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले पाउन पुरस्कार राशिको घोषणा गरेको हो ।

सोही कार्यक्रममा आयोजकले जेठ १ गते सम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ । आयोजकले कोरोनाभाइरसको महामारी बाबजुत पनि सरकारसँग छलफल गरेर अगाडि बढ्ने जानकारी दियो । प्रतियोगिताका निर्देशक श्रेयन्स कार्कीले क्लबले लगानी गरिसकेको कारण बन्द रंगशालामा भएपनि प्रतियोगिता आयोजना हुने बताए ।

कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै रंगशालामा दर्शक उपस्थित नगर्न निर्देशन दिएको थियो । त्यसैले आयोजक तोकिएको मापदण्ड अपनाउँदै आयोजना गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । सोही कारण पहिलो संस्करणको प्रतियोगिता दर्शक बिना सञ्चालन हुनेछ। यस्तै प्रतियोगिताको दौरानमा कुनै पनि टोलीका खेलाडीमा कोरोना संक्रमण देखिए अर्को खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान आयोजकले क्लबलाई प्रदान गरेको छ । पहिलो संस्करणको लिगमा ७ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदै छन् ।

जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेन्जरर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलीबाट हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं रेन्जरर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साझ साढे ५ बजेबाट सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल २५ खेल हुनेछ । विजेताले ३५ लाख पाउनेछ भने यस्तै उपविजेताले १५ लाख पाउनेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख पाउने छन् । त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस