
१० बैशाख, मकवानपुर । वैदेशिक रोजगारीबाट फर्किएका हेटौंडा उपमहानगरपालिकाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
हेटौंडा–४, भैरवरोड घर भएका ५० वर्षीय पुरुष केही दिनअघि मात्रै नेपाल फर्किएका थिए । क्षयरोगका बिरामी उनलाई हेटौंडा अस्पतालमा २ वैशाखमा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखाका भोला चौलागाईंले जानकारी दिए । उनको शुक्रबार बिहान निवासमै मृत्यु भएको जनस्वास्थ्य निरीक्षक चौलागाईंले बताए ।
मृतक ती पुरुषमा कोरोनासँगै क्षयरोग र उच्च कोलेष्टोलको समस्यासमेत रहेको चौलागाईले बताए । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा रहेका उनको घरमा नै मृत्यु भएको हो । मृतक गत बैशाख २ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि हेटौंडा अस्पताल पुगेको र चेकजाँचका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी केही समय अघिमात्र स्वास्थ्यमा समस्या देखापरेपछि विदेशबाट बिरामी अवस्थामा नेपाल फर्केको जनाइएको छ ।