११ बैशाख, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ ।
शुक्रबार सङ्घले अपिल जारी गर्दै खाली सिलिण्डर भर्न आग्रह गरेको हो । महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले बताए ।
छिमेकी भारतलगायत नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएको छ । यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ । नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमताअनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखेकोे छ ।
गतवर्ष कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आकस्मिकरुपमा ‘लकडाउन’ गरेसँगै ग्यासको हाहाकार मच्चिएको थियो । आपूर्ति नियमित हुँदा पनि उपभोक्ताले एकैपटक खाली सिलिण्डर भर्न खोज्दा केही दिन वितरणमा समस्या देखिएको थियो ।
त्यतिबेला निगमको सहयोग र उद्योगीको समन्वयबाट ग्यास वितरणमा देखिएको समस्या समाधान गरिएको थियो । अहिले ग्यास आपूर्तिमा कुनै समस्या नरहेको पनि उनले बताए ।