समाचार

कोरोना संक्रमितले अस्पताल भरिएपछि विकल्प खोज्दै सरकार

Health Ministry

११ बैशाख, काठमाडौं । कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि उपत्यकाका कोभिड अस्पताल बिरामीले भरिएका छन् ।

अस्पतालमा आवश्यकताअनुसार हाइडिपेन्डेन्सी बेड र अक्सिजन ट्यांक थप्ने तथा जनशक्तिलाई तालिम दिने काम भइरहेको स्वास्थ्य सेवा विभाग उपचारात्मक शाखाका प्रमुख डा. प्रकाश बुढाथोकीले बताए । हाल स्टक रहेको अक्सिजनले दुई महिनामात्रै धान्ने अवस्था छ भने संक्रमणदर बढेपछि चार महिनासम्मलाई पुग्नेगरी खरिद गर्ने तयारी भइरहेको छ । यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अक्सिजन उत्पादक कम्पनीसँग छलफल गरेका छन् । कम्पनीले सरकारको लक्ष्यअनुसार अक्सिजन उत्पादन गर्न सक्ने जानकारी गराएका छन् ।

पर्याप्त अक्सिजनका लागि थप २ हजार सिलिन्डर किन्ने तयारी भएको डा.बुढाथोकीले बताए । व्यवसायीले आफैं किनेमा सरकारले कर छुट दिने अथवा सरकारले किनेर व्यवसायीलाई दिने सम्झौता भएको छ । सरकारले ३ सय नर्स, २ सय चिकित्सक र ५ सय स्वास्थ्यकर्मीलाई कोभिड उपचारका लागि भर्चुअल तालिम दिइरहेको छ । यस्तै गत वर्ष घोषणा भएका आइसोलेसन सेन्टरहरू आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुर, मनमोहन अस्पताल, दुवाकोट आइसोलेसन सेन्टर र खरिपाटी केन्द्रलाई पुनः तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।

हाल उपत्यकाका कोभिड अस्पतालमा सरकारले घोषणा गरेअनुसार ५० प्रतिशत बेड कोभिडको उपचारका लागि मात्र प्रयोग भइनसकेको र सामान्य लक्षण भएका बिरामीलाई पनि अस्पताल भर्ना गरेका कारण बेड अभाव देखिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए ।

कोरोनाका बिरामीको उचित व्यवस्थापनका लागि सामान्य लक्षण भएकाको आइसोलेसन सेन्टरमा र गम्भीर लक्षण भएकाको अस्पतालका हाइडिपेन्डेन्सी युनिटमा उपचार गरिरहेको डा. पौडेलले बताए। ‘बढी लक्षण भएकालाई अक्सिजनबिना उपचार गर्न सकिन्न। सरकार अक्सिजन व्यवस्थापनको तयारीमा पनि छ’, उनले भने ।

देशभरिमा हाइडिपेन्डेन्सी बेड २ हजार, आइसियु बेड ५ हजार र भेन्टिलेटर एक हजार पुर्याउनेगरी जडान गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । ‘पहिला नै प्रयोग भएका उपकरण हुन् । कोरोना संक्रमण बढेपछि धमाधम जोड्ने काम भइरहेको छ’, डा. बुढाथोकीले भने । यो समाचार नागरिक दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस