११ बैशाख, काठमाडौं । दिल्ली हाइकोर्टले अक्सिजनको आपूर्तिमा अड्चन सिर्जना गर्ने केन्द्र, राज्य या स्थानीय प्रशासनका कुनै पनि अधिकारीलाई छुट नदिने, फाँसीमा झुन्ड्याउने आदेश दिएको छ । महाराजा अग्रसेन अस्पतालका तर्फबाट दायर भएको एक याचिकाबारे सुनुवाई गर्दै जस्टिस विपिन साँघी र जस्टिस रेखा पल्लीको इजलासका तर्फबाट उक्त टिप्पणी आएको छ ।
कोरोना महामारीका दौरान अक्सिजनको कमीका कारण बिरामीको सासमा देखिएको संकटलाई नियाल्दै महाराजा असेन अस्पतालले चाडैंभन्दा चाडैं अक्सिजन उपलब्ध गराउन भन्दै दिल्ली हाइकोर्टमा निवेदन दिएको हो ।
यसपछि हाईकोर्टले दिल्ली सरकारलाई कसले अक्सिजनको आपूर्तिमा अवरोध गर्दैछ भन्नेबारे जानकारी दिन आदेश दिएको हो, र ती व्यक्तिलाई झुन्डाइदिने पनि हाइकोर्टले फैसला गरेको छ । कोर्टले स्थानीय प्रशासनका यस्ता अधिकारीहरुका विषयमा केन्द्र सरकारलाई पनि जानकारी गराउन दिल्ली सरकारलाई भनेको छ, ताकि केन्द्रले उनीहरुलाई कारबाही गर्न सकोस् ।
दिल्लीमा पछिल्लो २४ घण्टामा ३ सय ४८ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ । यहाँ पछिल्लो २४ घण्टामा २४ हजार ३ सय ३१ जना कोरोनाबाट संक्रमित भइसकेका छन् । महामारी सुरु भएयता नै यहाँ कोभिड १९ संक्रमण उच्च अवस्थामा छ । यहाँ सक्रिय संक्रमित कै संख्या ९२ हजार २९ जना पुगेको छ ।