
१२ बैशाख, विराटनगर । पैसाको लोभमा परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई पक्राउ गरेको छ । विद्यार्थीहरूसँग मोटो रकम लिएर उनीहरुले परीक्षा हुनु भन्दा दुई घण्टा अगाडि नै प्रश्नपत्र आउट गरेको आरोप लागेको छ ।
मोरङ प्रहरीले प्रश्नपत्र आउट गर्नमा संलग्न रहेको अभियोगमा एक जना कर्मचारी र ९ जना विद्यार्थीहरूलाई पक्राउ गरेको हो । मोरङ प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाडौंबाट शनिबार राति पक्राउ गरि ल्याएको छ भने अन्य दुई जनालाई विराटनगरबाट पक्राउ गरेको हो । यस घटनामा मोरङ प्रहरीले ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरी ‘शिक्षा ऐन’ अनुसार म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घन्टाअघि प्रश्नपत्र बाहिरिएको थियो। बैशाख ३ गते १ बजेदेखि हुने फिजिक्सको परीक्षा अघि ११ बजे नै प्रश्नपत्र आउट भएको थियो । परीक्षाअघि प्रश्न पत्र सार्वजनिक भएपछि परीक्षा नियन्त्रक कार्यालयका प्रमुख प्रा. डा सूर्यप्रसाद संग्रौलाले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिएका थिए । प्रश्नपत्र आउट भएपछि अनुसन्धान गर्न मोरङ प्रहरीमा निवेदन दर्ता गराएका थिए ।
मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काका अनुसार नौ जनालाई घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको छ । पक्राउ परेका विद्यार्थी र कर्मचारी सबैको नाम भने गोप्य राखेको छ । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार प्रश्नपत्र आउट गर्ने कर्मचारीलाई प्रत्येक विद्यार्थीहरूले १० देखि २० हजारभन्दा बढी रकम दिएको खुलेको छ ।