मुख्य समाचार

संक्रमण नियन्त्रण नभएपछि नयाँ दिल्लीमा पनः लकडाउन अवधि थपियो

delhi lockdown

१२ बैशाख, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा लकडाउनको अवधि थप एक हप्ताका लागि बढाइएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले आगामी सोमबार बिहान ५ बजेसम्मका लागि लकडाउन जारी रहने जानकारी दिएका हुन् । उनले संक्रमण रोक्न लकडाउन अन्तिम हतियार भएको बताए । यसअघि दिल्लीमा गत १९ अप्रिलदेखि लकडाउन शुरु भएको थियो जुन अप्रिल २६ बिहान ५ बजेसम्म जारी रहने  थियो ।

केजरीवालले आइतबार पुनः अक्सिजनको कमीको मुद्दा उठाए । उनका अनुसार केन्द्रसँग ४९० मेट्रिक टन अक्सिजन माग गरिएकोमा सो हालसम्म प्राप्त नभएको बताए । दिल्लीमा दैनिक ७ सय मेट्रिक टन अक्सिजन आवश्यक रहेको उनको भनाइ थियो ।

केजरीवालले लकडाउन लागू गरिए पनि हालसम्म संक्रमण कम नभएको जिकिर गरे । ‘कोरोनाविरुद्ध यो अन्तिम हतियार थियो । तर, अहिले पनि संक्रमण कम भएको छैन । हामीले सबैसँग छलफल गर्दा लकडाउन लगाउन सुझाव आयो । लकडाउनका दौरान संक्रमण दर ३६ देखि ३७ प्रतिशतसम्म पुगेको थियो । एक दुई दिन दिनमा यो दर ३० प्रतिशत भन्दा कम पुगेको छ । हामी भगवानसँग प्रार्थना गर्छौं कि चाँडै हामीलाई कोरोनाबाट मुक्ति मिलोस् ।’

दिल्लीमा शनिबार २२ हजार ६९५ जना संक्रमित पाइएका थिए । सो दिन २३ हजार ५७२ जना निको पनि भए भने ३५७ जनाले ज्यान गुमाए । दिल्लीमा हालसम्म १० लाख ४ हजार ७८२ जना संक्रमित भइसकेका छन् । यसमध्ये ८ लाख ९७ हजार ८०४ जना निको पनि भएका छन् भने १३ हजार ८९८ जनाको मृत्यु भएको छ । ९३ हजार ८० जनाको उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस