१३ बैशाख, काठमाडौं । शेयर बजार परिसूचक नेप्से सोमबार ६५.५८ अंकले घटेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारीको चर्चासँगै लगानीकर्ताको मनोबल खस्किदाँ नेप्से परिसूचक २.५५ प्रतिशत घटेर २ हजार ५०६ विन्दूमा ओर्लिएको हो ।
यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ६ अर्ब ५९ करोडको कारोबार भएको छ । सबै समूहहरु ओरालो लागेका छन् । बैंकिङ ४०, ब्यापार १२७, होटल तथा पर्यटन ७१, विकास बैंक ८८, जलविद्युत ९९, फाइनान्स २७, निर्जीवन बीमा ३८४, उत्पादन ९५, अन्य ५४, माइक्रोफाइनान्स ११२, लगानी २ र जीवन बीमा ३५९ अंकले घटे ।
यस दिन दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । विशाल बजार कम्पनी र महिला लघुवित्तको मूल्य १० प्रतिशतले बढेको हो । आजको कारोबारपछि विशालबजारको मूल्य प्रतिकित्ता ३८३२ रुपैयाँ कायम भएको छ भने महिला लघुवित्तको मूल्य २३४९ रुपैयाँ पुगेको छ ।
निषेधाज्ञामा बजार बन्द नहुने
यस पटक निषेधाज्ञा भएपनि सेयर बजार बन्द नगर्ने पक्षमा नेपाल धितोपत्र बोर्ड रहेको छ । बोर्डका अध्यक्ष भीष्म ढुंगानाका अनुसार निषेधाज्ञामा सेयर बजार बन्द हुनेछैन ।
‘पहिला ब्रोकर, सिडिएससी र नेप्सेमा जानुपर्थ्यो । आफै नगइ केही काम हुँदैनथ्यो । तर अहिले काहिँपनि जानु पर्दैन ।’ प्रविधिको विकास सँगै अनलाइन कारोबार गर्न सकिने भएकोले बजार बन्द नहुने ढुंगानाले स्पष्ट पारेका छन् ।