
१३ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने आशंका बढाएको बताएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले कोभिड-१९ को संक्रमण बढ्दै गएकाले जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
“स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ,” प्रचण्डले भनेका छन्, “म सरकारसँग जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु ।”
उनले छिमेकी राष्ट्र भारतमा एकै दिन लाखौँ व्यक्ति संक्रमित र हजारौँको संख्यामा मृत्युको तथ्याङ्कले पनि खुखा सीमा रहेको हाम्रो देशको स्थिति भयावह बन्नेतर्फ सचेत रहनुपर्ने बताएका छन् । प्रचण्डले श्रमजीवि जनसमुदायलाई बढी असर पर्ने भएकाले खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकार र निजी क्षेत्रसँग पनि अपिल पनि गरेका छन् ।