१३ बैशाख, मोरङ । संखुवासभामा सोमबार एकै परिवारका ४ सहित ५ जनामा कोरोना संक्रमण देखिएको छ । संखुवासभामा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यको परिवारका ४ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार एकै परिवारका ४ सहित ५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोषण श्रेष्ठले बताए ।
कोरोना पोजेटिभको लक्षण देखिएपछि अध्यक्ष शाक्यको परिवारलाई सोमबार सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको हो। उनीहरुलाई हेलिकप्टर चार्टर गरि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । दोस्रो चरणको कोरोना संक्रमण गम्भीर प्रकृतिको समस्या भएको भन्दै जिल्ला अस्पताल खाँदबारीले उनीहरुलाई रिफर गरेको हो ।
सदरमुकाम खाँदबारी –१ का शाक्यको परिवारमा कोरोनाको लक्षण देखिएपछि खाँदबारी जिल्ला अस्पतालमा एन्टिजेन जाँच गर्दा पोजेटिभ देखिएको थियो । जिल्ला अस्पताल खाँदबारीमा सोमबार ७ जनाको एन्टिजेन चेक गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये एक जनामा भने स्वास प्रश्वासको समस्या देखिएको प्रवक्ता श्रेष्ठले बताए ।