मुख्य समाचार

डोटीमा कोरोना संक्रमितको मृत्यु भएपछि गाउँ सिल

sill

१४ बैशाख, डोटी । डोटीको शिखर नगरपालिका-१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ ।

केही दिन पहिले छिमेकी मुलुक भारतबाट काम गरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो । वडाध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्वतिरको गणेश नेगीको पसल, पश्चिम ढल्कना, उत्तरतीर चौपाता पिपल तथा दक्षिणतीर धौल्याल खोलासम्म सिल गरिएको जनाइएको छ ।

यसैगरी, उक्त गाउँबाट अर्को गाउँ जान तथा अर्को गाउँबाट उक्त गाउँमा आवतजावत गर्नमा यही २० गतेसम्म बन्देज गरिएको छ । जिल्लामा पछिल्लो समय भारतबाट काम गरी घर फर्किएका नागरिक आउने क्रम बढ्नुका साथै उनीहरू क्वारेन्टिन नबसी सिधै गाउँ जान थालेका कारण गाउँमा कोरोना संक्रमण बढ्ने भन्दै स्थानीयबासीमा त्रास फैलिएको छ ।

जिल्लामा कम्तीमा पनि एक हजारभन्दा बढी नागरिक भारतबाट रोजगारी गरी घर फर्किएको बताइएको छ ।

सुपमा १८६  औलो रोगी फेला

सुदूरपश्चिम प्रदेशमा १८६ जना औलो रोगका बिरामी फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँका यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो ।

निर्देशनालयका अनुसार यहाँका छ जिल्लामा चालु आर्थिक वर्षमा करिब १८६ जना औलोरोगका बिरामी फेला परेका छ । औलो रोगको नियन्त्रणका लागि सरकारी प्रयास जारी रहे पनि यहाँका छ जिल्लामा अझै औलो रोग पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीकाअनुसार औलोका बिरामी सबभन्दा बढी प्रदेश राजधानीसमेत रहेको कैलाली जिल्लामा फेला परेका छन् ।

उनका अनुसार कैलालीमा चालू आर्थिक वर्षमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा ९ र डोटीमा ७ जना औलो रोगी फेला परेका हुन् । जिल्लामा स्थानीयभन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयको दाबी छ । चालु आर्थिक वर्षमा ११५ आयातित औलोका बिरामी रहेको जनाइएको छ । प्रदेशमा आर्थिक वर्ष २०७६/७७ मा ३२० औलोका बिरामी थिए ।

जसमध्ये २५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए । प्रदेशमा आयातित औलोका सबभन्दा बढी बिरामी कैलालीमा पाइएको छ । यहाँका जिल्लामा आयातित औलोका बिरामीको सङ्ख्या भने क्रमिकरुपमा कम हुँदै गएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस